काँच बाहिरको जिन्दगी






काँच बाहिरको जिन्दगी


म हेरिरहेछु

काँच बाहिर,

अनेकौ जिन्दगीहरुलाई ।

हतारिदै हिँड्दै गरेका जिन्दगी,

आफ्नै गतिमा लम्किदै गरेका जिन्दगी

अनि सडक पेटिमा

सुसाईरहेका जिन्दगी ।

म देखिरहेछु,

मोटरसाइकलमा बत्तिदै गरेका जिन्दगी,

कहिँ पुग्ने हतारोमा जिन्दगी ।


काँच बाहिर

म देख्दैछु,

हातहातमा फाईल बोकेर उभिएका जिन्दगी,

चिन्तित अनि रनभुल्ल जिन्दगी ।


एक थान जिन्दगी

निलो स्क्र्ब सुटमा हाँस्दै

क्यान्टिनबाट निस्किदै

अनि भोकाएका केही

क्यान्टिन भित्र पस्दै गरेका जिन्दगी ।

घाँटिमा आला झुन्ड्याएका

सेता बस्त्रधारी एक जोडि जिन्दगी

उपचाररत कोहि जिन्दगीको कुरा गर्दै होलान्,

अनि हातमा चियाको कप समातेका

बाक्ला जुँगाधारी केही थान जिन्दगी

देशको 'जिन्दगी'बारे बात मार्दै होलान् 



म हेर्दैछु अझै

काँच बाहिरको 'जिन्दगी'


भर्खरै एम्बुलेन्स आईपुग्छ

र एकैछिनमा निकालिन्छ

स्ट्रेचरमा एउटा दुब्लो जिन्दगी,

'जिन्दगी'कै दोँशाधमा उभिएको यो जिन्दगी,

अनि उस्कै छेउ उभिएको

अर्को जिन्दगी

आँसु बगाईरहेछ,

धोतिको सप्कोमा

मुख लुकाईरहेछ जिन्दगी ।



यसरी काँच बाहिर 'जिन्दगी' हेर्दैछ

काँच भित्रको यो अर्को जिन्दगी,

एउटा एक्लो जिन्दगी ।




Comments

Popular posts from this blog

जेम्स डि. वाट्सनसँगको साक्षात्कार: सपना

एक चम्चा चिनी

के देख्छ सिउंडीको फूलले?