म सडक हुँ
25/06/2020
म सडक हुँ
भाग-१
म सडक हुँ।
म देख्न सक्दिँन,
केवल महसुस गर्छु,
मेरो देखाई नै यैं हो।
रक्तनलिझैँ फैलिएको छु,
गल्लिगल्लिमा,
सारा सहर भरी
अनि नशामा रगत कुदेझैँ
मेरो माथी चौबिसै घन्टा जीवन कुदिरहन्छ,
थरीथरी जुत्तामा, चप्पलमा,
नाङ्गो खुट्टामा,
टायरमाथी अडिएको सवारीमा,
दुई खुट्टामा,
चार खुट्टामा,
अनेकौं जीवन।
म महसुस गरिरहन्छु,
हेरिरहन्छु।
मेरो हेराईको माप एउटै छ,
चाहे बुढ्यौलीमा चाउरिए झैँ
पत्रपत्र उप्किएको हुँ,
या नवनिर्मित नवयौवना हुँ,
या भर्खर शृङार गरिएकी नवयुवती।
म एकनासले महसुस गर्छु।
म महसुस गर्न सक्छु
हिँडाईका चापहरु
दौडाईका वेगहरु
भिडहरु
एकान्तहरु।
म जम्मै देखिरहेछु,
म सडक हुँ।
म सुन्न सक्दिन,
तर म जान्न खोज्छु,
अनुमान लगाउन खोज्छु
के भैरहेको छ मेरो माथी।
म बुझ्दिन कहिले किन
अनेकौं जुत्ताचप्पलहरु
एकसाथ निस्कन्छन्,
गल्लीगल्लीमा
चोकचोकमा
मुख्य सडकमा
एकसाथ अगाडि बढ्छन्
रोकिन्छ्न्,
उभिन्छन् धेरैबेर,
अनि भागाभाग गर्छन्।
त्यहिं समय एक हुल फरक चापहरु
म महसुस गर्छु,
बुटहरुका सायद,
उनिहरु पनि उभिन्छन्
अनि बेगका साथ दौडिन्छन्।
म महसुस गर्छु,
अनेकौ नाङ्गा खुट्टाहरु
अनि ती नाङ्गा खुट्टा पछ्याउँदै
बुटका टापहरु,
कहिले अघिपछी
कहिले सँगसँगै,
एउटा नाङ्गो खुट्टा, अनेकौ बुटहरु
अनि नाङ्गा खुट्टा अकस्मात हराउँछन्।
फेरी जुत्ताचप्पलहरु गल्लीगल्लीमा छरिन्छन्,
बुटहरु सडकभरी छरिन्छन्,
के भैरहेको छ म बुझ्दिँन।
म महसुस गरिरहन्छु,
सियोले घोंचे झैँ लाग्छ,
थुप्रै सियोले एकसाथ घोंचे झैँ लाग्छ
केही खसिरहन्छ निरन्तर ममाथि
यताबाट उता उताबाट यता,
पोले झैँ लाग्छ
ठाउँठाउँमा,
के जलिरहेछ कुन्नी?
म बुझ्दिँन।
म त त्यो जलाईको वरिपरि भिड महसुस गर्छु,
अस्थिरताका कयौँ चापहरु एकसाथ।
के गर्दैछ जीवन मेरोमाथी?
म सोंच्छु।
म केही सुन्दिन पनि।
को होलान् यी?
म केही बुझ्दिँन पनि।
भाग-२
म महसुस गरिरहेछु,
कुनै जुत्ताचप्पल चलमलाएका छैनन् आज
कतै पनि।
के भएको होला?
एक दिन हुन्छ, एक हफ्ता हुन्छ, एक महिना हुन्छ
कोहि किन निस्कदैन?
अनि केहि थान जुत्ताचप्पल निस्किन्छन्,
हिँड्छन्,
रगतले नशाको टुप्पो भेट्न खोजेझैँ,
अनि फेरी सयौँ थान जुत्ताचप्पल निस्किन्छन्,
निरन्तर हिँडिरहन्छन्
मेरा पत्र उप्किएजस्तै,
तिनका पनि पत्रपत्र उप्किन्छन्,
अनि केही नाङ्गा खुट्टाहरु टेकिन्छन्
तर पनि रोकिंदैनन्
कहिँ पुग्ने हतारोमा सायद
हिँडिनैरहन्छन्।
को हुन् यिनी?
कस्तो वाध्यता?
म बुझ्दिंन केहि।
गल्लीमा जीवन अझै स्थिर छ,
चलमलाउदैन पहिले सरि।
चलमलाउँछन् बस एकदुई थान जुत्ताचप्पलहरु,
अनि केही बुटहरु
जो यताउता गर्दैछन्।
के भएको हँ?
म ध्यान दिन्छु,
एक जोडि चप्पल निस्किन्छ मेरो माथी,
चारपाङ्ग्रे गुडाउदै,
अरु दिनभन्दा किन भारी यो चारपाङ्ग्रे आज?
म बुझ्दिन।
त्यो हिँड्छ, गुड्छ
केही दिनमा फेरी निस्किन्छ
फेरी हिँड्छ, गुड्छ
त्यही भारी,
एउटै गन्तव्य त्यस्को,
फेरिफेरि हिँडिरहन्छ, गुडिरहन्छ।
को होला यो?
के भएको होला?
म केही बुझ्दिँन।
image: www.123rf.com
Comments
Post a Comment