आखिर कोहि किन हार मान्छ?

04/07/2019

आखिर कोहि किन हार मान्छ?

                                   

आजकाल आत्महत्याका अनेकौं खबर दिनहुजसो सुनिन थालेका छन्। आखिर कोहि किन नै आत्महत्याको बाटो रोज्छन्? जीवन त सबैलाई प्यारो हुन्छ; एउटा जाबो कमिलालाई त त्यस्को जीवन कति प्यारो हुन्छ। यस्तो प्यारो जीवनसँग सबै मोह एकाएक त्यागेर कोहि किन डोरीको पासो समाउन पुग्छ या विषको सिसी रित्याउन पुग्छ? २०१९ मे १३ को त्यो कालो रात शायदै म कहिले बिर्सन सकुँला। मेरी आत्मिय मित्रले त्यो दिन जीवनसँग हार मानिन् र यो दुनियादेखि सधैँको लागि बिदा लिईन्। हेर्दा कति खुसी देखिन्थिन् उनी। आफ्नो पढाईमा पनि अब्बल थिईन्। उनको प्रेमजीवन पनि सुमधुर नै चल्दैथियो। जो कोहिलाई पनि हेर्दा लाग्थ्यो कति सहज जीवन बाँचिरहेकिछन् उनी। तर उनीले हामी सबैलाई झुट्टा साबित गरिदिन्। उनी त्यो संबेदनाहिन कमिला जो थिईनन्। 

लामो समयदेखी आफ्नो मनमा भयानक अवसाद लिएर पो बाँचिरहेकी थिईन् उनी। हामीले उनको त्यो हाँसोभित्रको भयंकर निराशालाई देख्नै सकेनछौँ, या भनूँ देख्ने कोसिस नै कहिले गरेनछौँ। पढाइ साकिएपश्चात सबै आआफ्नो काममा यस्तो व्यस्त भयौँ कि कसैलाई कसैको खबर लिनेदिने ध्यान नै भएन हामीलाई! सायद हामी उनीसँग संवादमा निरन्तर रहन सकेको भए उनीभित्रको बाक्लिदै गएको अवसादको लक्षण अवश्य नै टिप्नने थियौँ होला। उनीलाई खुसी बनाउने प्रयत्न गर्ने थियौँ। उनको सम्भावी कुनैपनी गलत कदमलाई रोक्नेथियौँ। तर अहिले यी सब कुराहरु एउटा मात्र शब्दमा अटाएर रहे - "सायद"। 

कस्तो निराशाको खाडलमा उनीले आफूलाई पाईन् कि त्यसबाट निस्कने कुनै आश नै देखिनन्? किन उनीले आफूभित्रको निराशा व्यक्त गर्न, आफ्नो मनको भारी फुकाउन हामी साथिहरुमध्ये कसैलाई उपयुक्त ठानिनन्? के हामीमध्ये कसैले पनि उनीलाई बुझ्न सक्नेथिएनौँ? या उनीमा यसो गर्न अलिकती पनि साहस थिएन? अलिकति कोसिस मात्र गरिदिएभएपनि उनी सायद हामीमाझ आज एउटा याद बनेर रहनेथिनन्। 

म सम्झिन्छु मेरो बैंग्लोर बसाईंको अन्तिम दिनमा साथिहरुसँग बिदा भन्ने बेलामा उनीले आफू सिंगापुरमा एउटा पिचडी कन्फ्रेन्समा आउन सक्ने बताएकी थिन्। मैले खुसी हुँदै उनीलाई त्योबेला पुरै सिंगापुर घुमाउने कुरा गरेको थिए। अनि हामी अंकमाल गर्दै छुट्टिएका थियौँ। आज उनी मसँग सिंगापुर घुम्दै त छिन् तर मेरो मष्तिस्कमा फगत एउटा स्मृति मात्र बनेर। मेरो आँखाले देखिरहेको सिंगापुर सायदै उनीले देखिरहेकिछिन् होला। उनीलाई सम्झिंदा उनीप्रति मनमा एउटा मात्र गुनासो आउँछ - अझै अलिकती बाँचिदिए के बिग्रीन्थ्यो र??


हारीसकेको मान्छे

अन्धकार लत्पतिएको यी आँखामा

म उज्यालो खोजूँ कसरी?

क्षितिज पारी डुबदैछ जीवन,

म फेरी पूर्व रोजूँ कसरी?

हाँसो थियो हिजोसम्म साथमा,

सँगि थिए हजार,

आज तप्किरहन्छ मात्र आँसु हातमा,

मेरो एक्लोपनको फिँजियो बजार,

रह्यो त बस एक मुट्ठि साँस, 

अब बिसाउने चौतारी खोज्दैछु।

निराशाको कोठरीमा अचेत म,

अब केवल मृत्यु रोज्दैछु।

हो,

म त एक असफल मान्छे,

म त एक निराश आत्मा,

म त एक हारीसकेको मान्छे।।


 Image: by Shutterstock



Comments

Popular posts from this blog

जेम्स डि. वाट्सनसँगको साक्षात्कार: सपना

एक चम्चा चिनी

के देख्छ सिउंडीको फूलले?