जेम्स डि. वाट्सनसँगको साक्षात्कार: सपना

जेम्स डि. वाट्सनसँगको साक्षात्कार: सपना
May 14th, 2020




१४ मे, बिहिबारको दिन। अघिल्लो रात, ए रात होइन, अघिल्लो रातको भोलिपल्ट सबेर बिहान ५ बजेतिर निदाएको हुँला। के गर्नु? यो लकडाउनले गर्दा घरमै बस्नुपर्ने बाध्यता। खासै गर्नुपर्ने काम नभएपछी खाली खाने, अलि पढेजस्तो गर्ने, फिलिम हेर्ने, सुत्ने एवम् काम मात्रै त भयो। पुरै sleep cycle नै फेरिएको छ! अबेर झण्डैझण्डै मध्यान्नको बेला आँखा खुल्यो। एउटा छुट्टै किसिमको आश्चर्यताले मस्तिष्कमा बास गर्यो। क्या मज्जाको सपना देखेछु! एकमन आँखा चिम्लिएर सपना फेरी निरन्तर हुन्छ कि भनेर प्रयास नगरेको पनि होईन, तर ब्युझिँएपछी के लाग्थ्यो र। सपना पनि के देखेँ? एक तरिकाले भन्दा सपनामा भगवान नै देखेछु - बायोलोजिकल साईन्सका एक भगवान नै हुन् उनी।

सानो हुँदा एकचोटी सपनामा सत्य साई बाबालाई देखेको थिए - उनी गन्जी लगाएर क्यारम खेलिरहेका थिए। निकै उत्साहित हुँदै आमालाई सुनाएको थिए। आमा पनि अचम्म परेकी थिईन्।
त्योबेला म धर्मकर्ममा खुब आस्था राख्थेँ। अहिले भने त्यो क्षण सम्झिँदा हाँसो लागेर आउँछ। हुर्किंदो बेला धार्मिक टनिक घरबाटै पिईरहेको म बबुरोलाई त्यतिबेला 'भगवानमाथि पनि प्रश्न गर्न सकिन्छ?' भन्ने प्रश्नको उत्तरको के बोध?

अँ त म अहिलेको सपनाको कुरा गर्दैथिए। सपना यसप्रकारले सम्झिरहेको छु अहिले - आफूलाई एसलसी दिँदाको पुरानो विद्यालय त्योपनी कक्षा ८ को अन्तिम लहरको बेन्चमा बसिरहेको पाउँछु। कक्षामा अरुपनि विद्यार्थीहरु छन् तर कसैको अनुहार सम्झिन सक्दिँन अहिले। बेन्चको बायाँ पुछारमा बसेको म मेरो दायाँ साईडमा मेरो साथी Byte (वास्तविक नाम मनोज) हुनुपर्छ बसेको छ। कक्षामा कोहि टिचर छैन। सायद पिरेड ब्रेक भएको हुनुपर्छ। कक्षाको उत्तर-पश्चिमको ढोकाबाट एक्कासी जेम्स डि. वाट्सन छिर्छन्। 1953 तिरको जवान वाट्सन हैन कि, अहिलेको बुढा वाट्सन। तालु वरिपरि सेतै फुलेका कपाल अनि कालो सुट्बाट बाहिर देखिने गोरा चाउरिएका छाला तर आँखामा एक प्रकारको चमक भएका वाट्सन। बुढा म निर आउँछन् अनि भन्छन - "म तिम्रो बगलमा बस्न त बस्छु तर तिमीले यसबापत कक्षा अगाडि गएर एउटा स्पिच दिनुपर्छ।" यताउता हेर्छु, अरु कसैले उनीतिर ध्यान दिएका छैनन्। स्पिच के को बारेमा दिने बुढाले खुलाउँदैनन्। म एकछिन् त हच्किन्छु, तर यी महान् बैज्ञानिकसँग बेन्च साँझा गर्न पाउने लोभले उत्साहित पनि हुन्छु। म टाउको मात्र हल्लाईदिन्छु। वाट्सन म र Byte को बिचमा टुसुक्क बस्छन्। त्यसपछि बुढाले के भने, मैले उनीसँग के कुरा गरे केही याद छैन। तर एउटा कुरा चाहिँ याद आउँछ - मलाई वाट्सन बुढाको अटोग्राफ लिनु थियो। सोंच्न खोज्छु यदि मसँग बुढाले लेखेको 'The  Double Helix' किताब भईदिएको भए!! म आफ्नो अघिल्तिरको डेस्कमा रहेको झोला खोतल्छु र एउता रातो कभर भएको पुरानो किताब झिकेर त्यस्को पछिल्तिरको सादा कागज पल्ट्याएर किताब बुढातिर बढाउँदै भन्छु "अटोग्राफ प्लिज". "कस्को किताब हो यो?" बुढा सोध्छन्। म किताबको अगाडिको कभरमा भएको रिचर्ड फायन्मेनको मुस्कुराउँदै गरेको तस्विर औंलाले ईंगित गर्दै भन्छु "What Do You Care What Other People Think?". सपनामा पनि मलाई अलि पछुतो अनि लज्जाबोध महशुस हुन्छ, मैले जेम्स वाट्सनलाई अरुले लेखेको किताबमा अटोग्राफ भर्न लगाउदैछु भनेर।

खैर बुढाले त्यो किताब साईन गरे कि गरेनन्, मैले स्पिच दिएँ कि दिईन मलाई सम्झना आउँदैन। तर अलिकती भएपनी खुसि महसुस हुन्छ कि मैले एक नोबेल पुरस्कार बिजेता जेम्स डि. वाट्सन - जसले आफ्नो सहकर्मी फ्रान्सिस क्रीकसँगै जिवमा हुने DNA double helix  को molecular structure पत्ता लगाए - सँग सपनामा नै सहि एक क्षण बिताउन पाए भनेर। बिचमा हामीबिच केके संवाद भयो त्यो सम्झिन नसक्दा अलिकती थकथकी लाग्छ। अ साँच्ची के गर्दै होलान् बुढा अहिले?? ठिकै त छन्? म हत्तपत्त मोबाईल अनलक गर्छु र बिबिसी समाचार खोलेर हेडलाईनहरुमा सर्सर्ती नजर दौडाउँछु। वाट्सनसँग सम्बन्धित केही समाचार नभएकोले ढुक्क हुन्छु बुढा ठिक छन् भनेर। के गर्ने अहिले समय नै त्यस्तै चल्दैछ।

आम धार्मिक मान्छे सपनामा आफ्नो ईश्वरलाई एक झलकपनि देख्यो भने कत्ति आश्चर्य वा खुसी हुन्थ्यो होला, आफुलाई साह्रै भाग्यमानी ठान्थ्यो होला। कथा नै सुनिन्छन् कि कयौं देवमूर्ती वा देवस्थलको स्थापना कसैले सपनामा कुनै भगवानको दर्शन् पाएपश्चात भयो रे भनेर। मैले पनि बिज्ञानका एक भगवानको दर्शन सपनामा पाए। मचाहिँ के गरुँ?? खाली पानामा DNA double helix structure को एउटा चित्र भएपनि बनाउँ?? ओछ्यान छाडेर म ट्वाईलेटतिर लाग्छु।।।


Image: https://myhero.com/J_Watson_dnhs_ky_US_2014_ul



Comments

Popular posts from this blog

एक चम्चा चिनी

के देख्छ सिउंडीको फूलले?