के देख्छ सिउंडीको फूलले?
7th Dec, 2019
चौकोर कोठाको एक कुनामा
एउटा पलङ लडिरहेको छ
सायद कैयौं वर्षदेखि यसरी नै लडिरहेको होला,
अनेकन मान्छेहरु यही पलङमाथी लडेका होलान,
थाकेका जीउ, अल्छेको जीउ,
बिरामी जीउ, यौनले उन्मादित जीउ,
नजाने अनेकन जीउ यसमाथी उत्तानीएका होलान,
घोप्टिएका होलान, हजारौ कोल्टे फेरेका होलान,
कति सपना देखेका होलान?
दिनका सपना छुट्टै,
रातका छुट्टै,
के सपना देखे होलान?
फूल देखे होलान, आकाश देखे होलान,
हरिया चौर अनि समतल फाँट देखे होलान,
कुनै अवसादका देखे होलान,
बिछोडका देखे होलान,
मिलनका देखे होलान,
सोचेका देखे होलान,
नसोचेका देखे होलान।
ती सपना देख्ने मानिस
अहिले कहाँ होलान?
के गर्दै होलान?
ती अहिले पनि कतै न कतै सपना त अवश्य देख्दै होलान।
अनि विपना नि?
अँ, त म पलङको पो कुरा गर्दै थिए!
ती मानिस जस्तै म अर्को मानिस
यहीँ पलङमा लड्दैछु अहिले,
सपना त म पनि देखिरहेको छु,
खुला आँखा लिएर,
तर म के देख्दैछु?
बोध छैन मलाई,
बाहिर गमलामा फुलेको सिँउडीको फूललाई
उसले के देखिरहेको छ भनेर बोध होला?
आँखा अगाडि माथी सिलिङमा पंखा बेतोड घुमिरहेको छ,
हो त्यै हेर्दैछु, होइन देख्दैछु।
मन त मेरो त्यै पंखाको घुमाईसङै फनफनी घुम्दैछ।
कस्तो अस्थिरता!
के पहाडी झरनाहरुलाई पनि यस्तै हुँदो हो?
स्थिरता पाउने प्यासमा अस्थिर भै बगेको हो?
अनि हावालाई नि?
म कस्तो स्थिरता खोज्दैछु त?
पहाडको जस्तो?
त्यो पहाडको मुटु खनेर हेर्योभने कति स्थिर होला त त्यो?
लाभाका ज्वारभाटा तँछाडमछाड गर्दै पहाडै फोरुँला गर्छन होला।
या प्रशान्त महासागर जस्तो?
स्थिरता केमा छ?
कहाँ छ?
अस्थिरतामा स्थिरता पक्कै छ।
हिजो रोपेको धानको हरियो दुईपात
हेर्दाहेर्दै पँहेलो बाला बनी झुल्छ,
अस्थिर छ, तर समस्त प्रक्रिया कस्तो स्थिर!
देखेनौ के तिमीले? बुझेनौ?
नक्षत्रबाट यो धर्ती हेर्दा कति अस्थिर छ, घुमिरहन्छ,
तर म पल्टिएको यो पलङबाट हेर्दा
धर्ती कस्तो स्थिर!
चलेको त छ? घुमेको त छ?
हाथले स्पर्श गर्छु
अँह, कतै धड्कीदैन।
फूलको पत्रमा हीँडेको कमिलालाई त्यो फूल फूल लाग्ला?
कि मखमली भुँइ लाग्ला?
अनि त्यो कमिलाको खुट्टामा टासिएको जीवाणुलाई
कमिला 'कमिला' लाग्ला?
कुन ठाउँमा बसेर हेरुँ?
कुन बिन्दुमा उभीएर हेरुँ?
हरेक स्थानबाट सत्य भिन्नै परिभाषित हुन खोज्छ,
नामको विशेषण नै अर्थहीन लाग्छ।
आखिर सब अर्थ हेराइमा हुँदोरैछ हैन?
अझै बुझेनौ?
म कता हो कता भट्किए पो भन्दैछौ तिमी!
म बुझाउन सक्दिन तिमीलाई,
बुझाउने प्रयास पनि गर्दिन।
प्रयासको सीमा पनि सायद एक ठाउँमा गएर अन्त्य हुन्छ मेरालागी।
म के बोल्दैछु?
म के भन्दैछु?
अर्थ खोज्दै त छैनौ तिमी?
भो, दु:ख नगर।
दिवानाको बोली यस्तै अर्थहीन हुन्छ सायद,
बेस्वादको,
सायद साङ्लोलाई फूलको रस बेस्वाद भएजस्तो।
पुर्णीमाको रातमा रुखको बाँदर हाई काढ्छ,
तर त्यै जुनेलीमा कोकिला चरी मस्त भै गाउंछे।
एउटै रात, एकैनासको जून,
तर एउटामा निन्द्रा अनि अर्कोमा जागृति।
कस्तो अचम्म!
Image: dheeraj rayamajhi
Comments
Post a Comment